काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबिच नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् । सो समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । सिग्देललाई राष्ट्रपति पौडेलले यही भदौ १२ गते प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गरेका थिए ।
सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्षका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, सुरक्षा अङ्गका प्रमुखलगायताको उपस्थिति थियो ।