चितवन । नारायणगढ–मुग्लिन सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् भने ट्रक पानी बाहिर किनारमा रहेको छ ।
घटनास्थल पुगेर फर्कदैं गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्विचअफ छ । चालक सम्पर्क विहिन भएको हुँदा घटना शंकास्पद देखिएको र दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर भएको हुनसक्ने उनको भनाइ छ ।
ट्रक आइतबार बिहान सडकबाट झण्डै एक सय मिटर तल त्रिशुली किनारमा खसेको जनाउदै उपरीक्षक रिजालले यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजीकार्य भइरहेको बताए । दुई हजार दुई सय २५ कार्टुन तेल लोड गरिएको ना ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो ।