चितवन । बीस वर्ष अघिसम्म चितवनमा गुणस्तरीय ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले उत्पादन हुँदै आएको यहाँका सबै इँटा उद्योग बन्द भएका छन् । जिल्लामा विगत ४० वर्षयता व्यावसायिक रुपमा इँटा उद्योग सञ्चालनमा रहेका थिए ।
नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्ष नारायण सापकोटाका अनुसार गत साल एउटा उद्योगले एकपटक इँटा उत्पादन गरेको भए पनि यस वर्ष कुनै पनि उद्योग सञ्चालनमा छैनन् । क्रमशः सङ्ख्या घट्दै गएर अहिले सबै उद्योग बन्द भएका छन् । एउटा उद्योगमा चार सय हाराहारी मजदुरले काम पाउने गरेको भन्दै उनले हजारौ मजदुरको रोजिरोटी बन्द भएको र करोडौ रुपैयाँ उद्योगले नोक्सान बेहोरेको बताए ।
चितवनको इँटा राम्रो इँटाको रुपमा चिनिने हुँदा यहाँको इँटा चितवन र छिमेकी जिल्लामा जाने गर्दथ्यो । अहिले यहाँ रौतहट, बारा र महोत्तरीबाट इँटा ल्याएर बिक्री वितरण गरिँदै आएको छ । सापकोटाका अनुसार बजार घट्दै जानु, अस्वस्थ प्रतिस्पर्धा हुनु, बाहिरबाट ल्याइएका कम गुणस्तरका इँटा प्रयोगमा आउनु, घनाबस्ती बढ्दै जानु, माटोको अभाव हुनु, स्थानीयले अवरोध गर्नु लगायतका कारण उद्योग बन्द हुन पुगेका हुन् ।
इँटा उद्योग सङ्घ चितवनका अध्यक्षसमेत रहेका सापकोटाले सरकारले माटोमा अन्तःशुल्क लगाउँदा मूल्य बढेर पनि प्रभाव परेको बताए । यस्तै अवस्थामा पुनः उद्योग सञ्चालन हुने अवस्था निकै कम रहेको उनको भनाइ छ ।