काठमाडौँ । बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मंगलबार जारी गरेको शुभकामना सन्देशमा उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुन:जागृत गर्नुपर्नेमा जोड दिएका छन् ।
“सरकारले विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रूपमा अङ्गीकार गर्ने नीति लिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरूको सशक्तीकरण र सबलीकरण पनि उत्तिकै आवश्यक रहेको छ । यस्ता सङ्गठनहरू उच्चस्तरीय आयोग बनाई पुन:संरचनाको खाका तयार गरी कार्यान्वयन गर्ने सरकारको दीर्घकालीन नीति रहेको छ”, सन्देशमा भनिएको छ ।
प्रधानमन्त्रीले विकास–निर्मााणका कामलाई द्रुत गतिमा कार्यान्वयन गर्न सरकारले विज्ञान र प्रविधिलाई मेरुदण्डका रुपमा अङ्गीकार गर्दै आर्थिक विकास एवं सामाजिक रुपान्तरणका साथै प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानिएको बताए ।
प्रधानमन्त्रीले अनुसन्धानकर्मी र देशमै उद्यम गर्न खोजिरहेका युवा केन्द्रित कार्यक्रमका लागि सरकारले बजेट विनियोजन गरेको जनाउँदै सन्देशमा विज्ञानको प्रयोग गरी तथ्यमा आधारित नीति, कार्यक्रम निर्माणमा केन्द्रित हुन आवश्यक रहेको बताएका छन् ।