काठमाडौं । भैरव पुरस्कार गुठीले तीन जना स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित सो गुठीले मंगलबार विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम सार्वजनिक गरेको हो ।
गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेका अनुसार २०८१ सालको भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि एक लाख ११ हजार एक सय ११ रूपैयाँ रहेको छ । यस्तै, एक लाख एक हजार एक सय ११ रूपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार चुडामणि गौतमलाई प्रदान गरिने गुठीले जनाएको छ ।
त्यस्तै, ५१ हजार एक सय ११ रूपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहेको चयन समिति गठन गरेको थियो । भैरव स्मृति दिवसको दिन यही असोज १९ गते राजधानीको गोकर्णेश्वर—५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।