काठमाडौं, असार १८
नेपाल यातायात व्यवसायी महासंघले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा तथा सवारीसाधनको विभिन्न करमा छुट गर्न माग गरेको छ । महासंघले सवारीसाधनको बैंक किस्ता स्थगन, ब्याजको पुनर्विचार र पुनर्कर्जाको व्यवस्था गर्न माग गरेको छ । महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्वमा गएको महासंघको टोलीले अर्थसचिव शिशिरकुमार ढुङ्गानालाई बुधबार मन्त्रालयमा विज्ञप्ति बुझाउँदै यातायात व्यवसायमा रहेका समस्या सुनाउँदै सहुलियतको माग गरेको हो ।
अर्थसचिव ढुङ्गानासँग चालक अनुमतिपत्र, सवारीसाधनको जाँचपास, रुट इजाजत लगायतका कागजातको नवीकरण स्थगन समेत माग गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताए । महासंघको मागप्रति अर्थ सचिव ढुङ्गाना सकारात्मक रहेको पनि सिटौलाले बताए । महासंघले यस अघि पनि पटक–पटक विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि भेटेर सवारीसाधन सञ्चालन नभएको समयमा सहुलियतको माग गर्दै आएको छ ।
यता ट्याक्सी चालकले पनि यातायात व्यवस्था विभागमा ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । सरकारले गत चैत ११ देखि जारी राखेको बन्दाबन्दीमा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन भए पनि सार्वजनिक सवारीसाधन खुलाउने सम्बन्धी कुनै निर्णय गरेको छैन ।