काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरूलाई प्रत्येक शनिबार बिग मार्टमा आफूलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकलाई लाभान्वित गर्ने गरी बैंकले बिगमार्टसँग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरूमा १० प्रतिशत वा अधिकतम दुई सय रूपैयाँसम्म छुट योजना ल्याएको छ । उक्त छुट योजना हरेक शनिबारका दिन मात्र लागू हुनेछ ।
ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम, दुई सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।