काठमाडौं । नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित भएको छ । ४५औँ विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा निगमलाई सम्मान गरिएको हो ।
उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुणकुमार चौधरी तथा मन्त्रालयका सचिव डा गणेश प्रसाद पाण्डेयको समुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले उक्त सम्मानपत्र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रदान गरेका थिए । निगमले १ अगस्ट, २०२३ देखि ३१ अगष्ट, २०२४ को अवधिमा सबैभन्दा बढी विदेशी मुद्रा १० करोड ८० लाख ४० हजार आठ सय ७६ अमेरिकी डलर आर्जन गरेको थियो । आगामी दिनमा पनि आफ्नो कारोबार बढाइ राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन थप योगदान गर्दै जानेमा निगमले विश्वास लिएको छ । निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यहरूमा यात्रुहरूलाई अन्तर्राष्ट्रियस्तरको सेवा पु¥याउँदै आइरहेको र यस्ता सम्मानबाट निगमको व्यापारलाई बढाउन अझै हौसला मिलेको जनाएको छ ।