काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाइटेड रेमिटबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौतापश्चात विश्वका जुनसुकै देशहरूमा रहेका आफन्तहरूले निओ रेमिट तथा युनाइटेड रेमिटबाट पठाएको वैदेशिक रेमिट्यान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका दुई सय ९४ वटा शाखा कार्यालयहरूबाट भुक्तानी हुने भएको छ । दूरदराजमा रहेका ग्राहकहरूले पनि यो सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुनेछ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ मनि ट्रान्सफर प्रालि(नियो रेमिट) तथा युनाइटेड रेमिट प्रालिबीच यस्तो सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर प्रालि(नियो रेमिट)का प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका थिए । साथै, युनाइटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका छन् ।
हाल सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका दुई सय ९४ शाखा कार्यालय, ३१२ एटीएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउन्टर, क्युआर कोड सेवा, पस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (विनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा विनाइन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।