ल्हासा । वैज्ञानिकहरूले एसियाको वाटर टावर भनेर चिनिने छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी (ग्लेशियर) पहिचान गरेका छन् । चाइनिज एकेडेमी अफ साइन्सेस (सीएएस)का शोधकर्ताहरूका अनुसार लगभग चार सय मिटरको अधिकतम नापिएको मोटाइ भएको बरफ क्षेत्र दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सोनी काउन्टीको पुरोग काङ्गरी ग्लेसियरको हिस्सा हो ।
ग्लेसियरहरूले पृथ्वीको जलवायु इतिहासको बारेमा महत्वपूर्ण जानकारी समावेश गर्दछन् । यसअघि वैज्ञानिकहरूले गुलियाबाट तीन सय आठ दशमलव छ मिटरको बरफको कोर ड्रिल गरेका थिए । यो सात लाख वर्षभन्दा बढीको अवधिमा बनेको थियो ।
वैज्ञानिकहरूले हाल पुरोग काङ्गरी ग्लेसियरबाट बरफको कोर निकालिरहेका छन् । उनीहरूले यो पुरानो बरफ रहेको विश्वास गरेका छन् । ‘वर्तमानमा विश्वभरका हिमनदीहरू पग्लिँदै गएका छन् । एक पटक तिनीहरू पग्लिएपछि तिनीहरूभित्र समेटिएका ऐतिहासिक अभिलेखहरू पनि हराउनेछन्’, सिएएसका विदेशी शिक्षाविद् र अमेरिकन एकेडेमी अफ साइन्सेसका सदस्य लोनी थम्पसनले भने, ‘त्यसैले ऐतिहासिक जानकारी पुनः प्राप्त गर्नका लागि बरफको कोर निकाल्नु र संरक्षण गर्नु महत्वपूर्ण छ ।’ रासस/एएफपी