काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् । सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको संस्थाको हाल चुक्तापुँजी एक अर्ब पाँच करोड ५५ लाख रूपैयाँ रहेको छ ।
ग्रामीण अर्थतन्त्रलाई चलायमान गराउन र महिलालाई आत्मनिर्भरतातर्फ जोड्न फरवार्डले गाउँगाउँमा पुँजी पुर्याउँदै आएको छ । संस्था देशका ४० जिल्लाहरूमा सञ्चालित छ । संस्थामा करिब तीन लाख महिला सदस्यहरू रहेको संस्थाले जनाएको छ ।