आशिष बहादुर सिंह
बझाङ, असार २१
कोरोना संक्रमण पुष्टि भएपछि बझाङका एक युवाले आत्महत्या गरेका छन् । खप्तड छान्ना गाउँपालिका ७ का १८ वर्षीय युवकले संक्रमण पुष्टि भएको भोलिपल्टै आत्महत्या गरेका हुन् । गत जेठ १९ गते १६ जनाको समूहमा भारतबाट फर्किएका १८ वर्षीय शेरबहादुर राउत शुक्रबार बिहान क्वारेन्टाइन नजिकैको जंगलको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।
कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारदेखि उनी वडा नं ७ मा नै रहेको लामागडा प्राथमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक्लै बसिरहेका थिए । उनीसँगै आएका १६ जनाको गत असार १ गते आरडीटी परीक्षण गर्दा तीन जनाको आरडीटी पोजेटिभ आएको थियो । आरडीटी नेगेटिभ आएकालाई घर पठाएर राउतलगायत तीन जनाको पीसीआर परीक्षण गरिएको थियो ।
बिहीबार आएको पीसीआर परीक्षणको नतिजामा उनको मात्रै पोजेटिभ आएपछि उनी तनावमा रहेको बुझिएको खप्तड छान्ना गाउँपालिका ७ का वडा अध्यक्ष रामबहादुर सिंहले बताए । ‘बिहान ७ बजेसम्म आफन्तसँग कुरा गरेको रहेछ’, खप्तड छान्ना गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष सिंहले भने, ‘संक्रमण भयो, अब बाँच्दैन होला भन्ने खालका निराश कुरा गरेको थियो रे । त्यसैकारण आत्महत्या गरेको हुनसक्छ ।’