काठमाडौं, असार २१
विभिन्न नौ पर्यटन व्यवसायी संघ संगठनहरुले होटल तथा एयरलाइन्स खुलाउन माग गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई शुक्रबार भेटी पर्यटन व्यवसायीहरुले कोरोना भाईरसका कारण पर्यटन क्षेत्रमा नराम्रो असर परेको भन्दै लकडाउन खुलाउन माग गरेका थिए ।
व्यवसायीहरुले चार्टर फ्लाइडहरुको विकल्पमा निश्चित मापदण्ड तोकी यथाशीघ्र आन्तरिक तथा बाह्य हवाइ सेवाका नियमित तालिकाअनुसार सञ्चालन गर्न माग समेत गरेका छन् । त्यस्तै हरियो प्लेटका पर्यटकीय सवारीसाधन सञ्चालनको लागि अनुमति दिन र हिमाल सफाइको कार्यहरु सञ्चालन र नयाँ हिमाली गन्तव्य तथा हिमाली क्षेत्रमा भौतिक पूर्वाधार विकासको कार्यहरु तत्काल सुरु गर्न समेत उनीहरुको माग गरेका छन ।
मन्त्री भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए । मन्त्री भट्टराईले कोरोना संक्रमित कम भएको देशबाट हवाइ सेवा सञ्चालन गर्न सकिने संकेत गदै नेपाल पर्यटन बोर्डसँग स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरर प्रस्ताव लिएर आउन व्यवसायीलाई आग्रह गरे । मन्त्री भट्टराईले स्वास्थ्य प्रोटोकलसहितको प्रस्ताव लिएर आए सीसीएमसी र क्याबिनेटमा लगेर निर्णय गर्ने कोसिस गर्ने बताए ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स, ऐजेन्ट, सोसाइटी अफ ट्राभल एण्ड अपसरटेस नेपाल, होटल एसोसिसन नेपाल, नेपाल एसोसिएसन अफ टुर अपरेटर्स, टेकिङ्ग एजेन्सी एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ राफिटङ एजेन्सी, नेपाल पर्वरोहण संघ, टुरिस्ट बस एसोसिसन अफ नेपाल र नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्षले सामुहिक रुपमा मन्त्री भट्टराईलाई माग तथा सुझाव दिएका थिए ।