कोलम्बो । श्रीलंकामा सन् २०२४ को पहिलो नौ महिनामा पर्यटन क्षेत्रबाट सङ्कलित राजस्वमा करिब ६१ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंक अफ श्रीलंका (सीबीएसएल)को तथ्यांकले देखाएको छ ।
श्रीलंकाले सन् २०२४ को पहिलो नौ महिनामा पर्यटनबाट दुई अर्ब ३५ करोड डलर आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिमा एक अर्ब ४६ करोड डलर थियो ।
श्रीलंकाले सेप्टेम्बर महिनामा मात्र पर्यटन क्षेत्रबाट १८ करोड १० लाख अमेरिकी डलर आम्दानी गरेको सीबीएसएल तथ्यांकमा उल्लेख छ । श्रीलंकामा गत सेप्टेम्बरमा एक लाख २२ हजार एक सय ४० जना पर्यटक भ्रमण गरेका थिए । जुन सन् २०२३ को सेप्टेम्बर महिनाको तुलनामा नौ दशमलव ११ प्रतिशत बढी हो ।
श्रीलंकामा पहिलो नौ महिनामा कुल १४ लाख ८० हजार पर्यटक भ्रमण गरेका छन् भने यस वर्षको अन्त्यसम्म २३ लाख पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ । पर्यटन श्रीलंकाको लागि प्रमुख विदेशी राजस्व स्रोत हो ।