महेन्द्र शाही
सोलुखुम्बु, असार २१
सोलुखुम्बुका माप्य–खुम्बु मितेरी पुल पहिरोको उच्च जोखिममा परेको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका र माप्यदूधकोशी गाउँपालिकाको सिमानामा निर्माण भएको पुल उद्घाटन नहुँदै पहिरोको जोखिममा परेको हो । करिब १ महिनाअगाडि निर्माणसम्पन भएको मोटरेबल पुल पहिरोको उच्च जोखिममा परेको माप्य दूधकोशी गाउँपालिकाका प्रवक्ता तेज बहादुर मगरले जानकारी दिए । ‘पुल निर्माण गरि उद्घाटन नगर्दै जोखिममा प-यो’, प्रवक्ता मगरेले भने ।
पुलको माथिल्लो भागबाट करिब ५० मिटर जति ठूलो पहिरो खसिरहेको र जोखिम बढेको प्रवक्ता मगरको भनाइ छ । पहिरो अहिले ठूलो ढुंगा भीरमा रोकिएको उनले सुनाए । पहिरो सहितको ठूलो ढुंगा झरेको खण्डमा पहिरोले पुलमा क्षति गर्ने उनको भनाइ छ । निरन्तर लेदोसहितको पहिरो खसिरहेकाले नियन्त्रणको प्रयास पनि असफल भएको प्रवक्ता मगरले बताए । ‘नियन्त्रणको प्रयास गरिएको भए पनि सफल हुन सकिएन’, उनले थपे । यो पुल माप्यदूधकोशी, खुम्बु पासाङ ल्हामु गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा निर्माण भएको थियो ।
यो पुल निर्माणका लागि ८ करोड ३४ लाख ८० हजारमा गत जेठमा निमार्ण कार्य सम्पन भएको हो । जेठ महिनाको १५ गते उद्घाटन गर्ने भनिएको भए पनि कोरानाका कारण पुल निर्माणको कार्य ढिला भएकाले उद्घाटन पनि ढिलो भएको बताइएको छ । तर अहिले पुल पहिरोको जोखिममा परहेकाले यो पुलमा उद्घाटन नहुँदै क्षति त पुग्ने होइन भन्ने आशंका बढेको छ ।