सुबास बस्नेत
दोलखा, असार २१
दोलखामा सार्वजनिक सवारीसाधन बन्द भएपछि निजी सवारीसाधनले खाँदाखाँद यात्रु बोकेर मनलागी भाडा लिने गरेका छन् । कोरोना भाइरस न्यूनीकरण गर्न सरकारले सार्वजनिक यातायातका सवारी बन्द गरेको तीन महिना नाघेको छ । सार्वजनिक यातायातका सवारीसाधन बन्द हुँदा निजी सवारीले मनपरी भाडा लिएर बन्दको फाइदा उठाउने गरेका छन् ।
दोलखा जिल्लाभर पछिल्लो समय यात्रु ओसारपसार गर्न साना सवारी बोलेरो सक्रिय रहेका छन् । नौ स्थानीय तह रहेको दोलखा जिल्लामा दैनिक सयौँको संख्यामा बोलेरो बिरामी र यात्रु बोकेर जिल्लाका मुख्य सडक लामोसाँघु जिरी र तामाकोशी खुर्कोट ओहोरदोहोर गर्ने गरेका छन् । जिरी, मैनापोखरी चरीकोट हुँदै चल्ने बोलेरोले तामाकोशीदेखि चरीकोट बजार चल्ने १७ किलोमिटर सडकको यात्रा गरेको भाडा दुई सय ५० रुपैयाँ भाडा लिने गरेको तामाकोशी गाउँपालिका भीरकोटका यात्रु शिव कार्कीले बताए ।
पाँच जनाको क्षमता रहेको बोलेरो चालकले डबल र सिङ्गल क्यापको बोलेरोमा भित्र र बाहिर कोचेर १५ देखि २० जना यात्रु बोक्ने गरेका छन् । तामाकोशीदेखि चरीकोटको सार्वजनिक गाडीको भाडादर ५० रुपैयाँ रहेकोमा निजी बोलेरोले भने पाँच गुणा बढी भाडा लिने गरेका छन् । लकडाउनको मौका छोपेर बसेका बोलेरोले जिल्लाका प्रहरीको आखा छल्दै यात्रुसँग मनलागी भाडा असुल्दै आएको शनिबार बोलेरोमा सिंगटीदेखि चरीकोट यात्रा गरेका यात्रु रामु खड्काले बताए ।