काठमाडौं, असार २१
यस साता सेयर बजार परिसूचक १२ सय ५६ दशमलव ११ अंकमा पुगेर रोकिएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ६९ दशमलव तीन अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ५२ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार २२ हजार ८७ वटा कारोबारमा ४० लाख ९६ हजार छ सय दुई कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ५९ करोड ६५ लाख ३५ हजार ३९ रुपैयाँ पुगेको छ । कारोबार रकम गत अर्थात् लक डाउन अघिको साताको तुलनामा निकै कम हो । लकडाउनअघिको अन्तिम सातामा धितोपत्र बजारमा झण्डै आठ अर्ब २६ करोड रुपैयाँको हाराहारीमा सेयर किनबेच भएको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्य दिन नै खुल्ला रहेको थियो । सोमध्ये दोस्रो र पाँचौं दिन सेयर बजार उच्च अंकले तल झरेको थियो भने तेस्रो र चौथो दिन सेयर बजार उकालो लागेको थियो । दोस्रो दिन पनि बजार परिसूचक १२ दशमलव ८७ अंकले घटेर ११ सय ८८ दशमलव ७० विन्दुमा झरेको थियो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव तीन अंकले ओरालो लागेर दुई सय ५६ दशमलव २९ विन्दुमा झरेको थियो । उक्त दिन धितोपत्र बजारमा एक सय ४८ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको थियो । सोही आधारमा छ हजार आठ सय ६९ कारोबारमा १४ लाख ४४ हजार एक सय ७३ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकबम ४८ करोड ५३ लाख १५ हजार छ सय २७ रुपैयाँ पुगेको थियो ।
तेस्रो दिन भने बजार परिसूचक उकालो लागेको थियो । उक्त दिन बजार परिसूचक ७२ दशमलव पाँच अंकले उकालो लागेर १२ सय ६० दशमलव ७५ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ६३ अंकले उकालो लागेर दुई सय ७१ दशमलव ९२ अंकमा चढेको थियो । उक्त दिन एक सय ३४ कम्पनीहरुको दुई हजार नौ सय १९ वटा कारोबारमा चार लाख ८९ हजार पाँच सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम २२ करोड ७२ लाख १२ हजार एक सय ९४ रुपैयाँ पुगेको थियो ।
चौथो दिन पनि बजार परिसूचक ७५ दशमलव ७७ अंकले उकालो लागेर १३ सय ३६ दशमलव ५२ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव एक अंकले उकालो लागेर दुई सय ८७ दशमलव दुई अंकमा चढेको थियो । उक्त दिन एक सय ३५ कम्पनीहरुको तीन हजार आठ सय ९० वटान कारोबारमा ११ लाख एक हजार दुई कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४० करोड ७३ लाख ५२ हजार दुई सय ४७ रुपैयाँ पुगेको थियो ।
अन्तिम कारोबार दिन भने बजार परिसूचक ८० दशमलव ४१ अंकले ओरालो लागेर १२ सय ५६ दशमलव ११ अंकमा झरेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ९९ अंकले ओरालो लागेर दुई सय ६९ दशमलव तीन अंकमा झरेको थियो । उक्त दिन एक सय ४२ कम्पनीहरुको आठ हजार चार सय नौ वटा कारोबारमा १० लाख ६१ हजार आठ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४७ करोड ६६ लाख ५४ हजार नौ सय ७१ रुपैयाँ पुगेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्ट्रिलरी प्रालि, नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एसिया बैंक आदि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा भने नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्ट्रिलरी प्रालि आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । नेप्सेका अनुसार यस साता आईसीएफसी फाइनान्स, गुडविल फाइनान्स, कुमारी बैंक, सिन्धु विकास बैंकसहितका नौवटा कम्पनीहरुको ऋणपत्र तथा बोनस सेयर सूचीकृत भएका छन् ।