काठमाडौं, असार २१
सानिमा बैंक र आईएमएस ग्रुपबीच बैंकका ग्राहकहरुलाई विभिन्न सामान खरिद गर्दा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईएमएस ग्रुपको काठमाडौंं कमलपोखरीस्थित सिटी सेन्टर र दरबारमार्गस्थित वन दरबार मलमा रहेको आईएमएस लिटल स्माइल्स स्टोरबाट डेबिट क्रेडिट कार्ड प्रयोग गरी ड्रोन, गिम्बल, ह्युमिडिफायर, पावर बैंक, बेबि प्रोटक्टस् आदि खरिद गर्दा ५५ छुट प्राप्त गर्न सक्नेछन् ।
साथै क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई १८ महिनासम्मको मासिक किस्ताबन्दी (ईएमआई) सेवा पनि उपलब्ध रहेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस ग्रुपका तर्फबाट ग्रुपका अध्यक्ष तथा निर्देशक डिकेस मल्होत्राले हस्ताक्षर गरे । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ६१ करोड ८७ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ५७ करोड ५३ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ८० करोड १३ लाख ८१ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ८० करोड ६५ लाख ८६ हजार रुपैयाँ निक्षेप संंकलन गरी ९२ अर्ब ११ करोड ९८ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब २४ करोड २७ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले ८९ अर्ब ३७ करोड ३७ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४१ करोड ८८ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ९१ करोड ९८ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।