मध्यविन्दु (नवलपरासी) । बाघको आक्रमणबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एक जना पुरुषको मृत्यु भएको छ । वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गर्दा विनयी त्रिवेणी गाउँपालिका–१ लक्ष्मीटाँडी बस्ने ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेला थिङलाई बाघले आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक जेसी शाहले छिमेकीसहित घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको जानकारी पाएपछि खोजी गर्दा थिङलाई मृत भेटिएको बताए । थिङको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको छ ।