दोलखा । जनस्वास्थ्य कार्यालय दोलखाले यस वर्ष जिल्लाका करिब ११ हजार बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएको छ । जनस्वास्थ्य कार्यालय दोलखाले कात्तिक २ र ३ गते राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि दिएको जनस्वास्थ्य कार्यालय दोलखाकी जनस्वास्थ्य अधिकृत मनिषा महर्जनले जानकारी दिइन् ।
उनका अनुसार करिब ११ हजार बालबालिकालाई भिटामिन ‘ए’ र ९ हजार बालबालिकालाई जुकाको औषधि खुवाइएको हो । कार्यालयले जिल्लाका स्थानीय तह तथा वडाको समन्वयमा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य इकाई, विद्यालय, वडा कार्यालयमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको जनस्वास्थ्य अधिकृत महर्जनले जानकारी दिइन् । कार्यालयले सबैभन्दा बढी भीमेश्वर नगरपालिकाभित्रका दुई हजार आठ जना बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाएको छ । त्यसैगरी जिरी नगरपालिकामा एक हजार ५४ जना, कालिञ्चोक गाउँपालिकामा एक हजार पाँच सय ३० जना, मेलुङ गाउँपालिका आठ सय २२ जना, शैलुङ गाउँपालिकाका नौ सय ६४ जना, तामाकोशी गाउँपालिकाका आठ सय ६० जना र वैतेश्वर गाउँपालिकाका एक हजार ३५ जना बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाएको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
त्यसैगरी जिल्लाको गौरीशंकर गाउँपालिकामा एक हजार ३२ जना र विगु गाउँपालिकाभित्रका एक हजार एकसय ६१ जना गरी १० हजार सात सय ७७ जना र जिल्ला बाहिर बसोबास गर्ने तर दशैँ मनाउन गाउँ आएका करिब दुई सय ३४ जना बालबालिकालाई पनि भिटामिन ‘ए’ तथा जुकाको औषधि यहीँबाट दिएको कार्यालयले जनाएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हरेक वर्ष छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।
बालबालिकाको सर्वाङ्गीण विकासको लागि खोप र पोषण दुवै अपरिहार्य आवश्यक रहेकोे जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालयले शुक्रबार र शनिबार छुटेका बालबालिकालाई पनि नजिकैको स्वास्थ्यचौकीमार्फत भिटामिन ए तथा जुकाको औषधि खुवाउने समेत जनाएको छ ।