काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका ५ छकडोलमा सरु रुम्बा लामाले सार्वजनिक गोरेटो बाटो हडपेर बनाएको भौतिक संरचना भत्कने भएको छ । सिट नम्बर १०२१०६२०१ मा रहेको कित्ता नम्बर एक सय ५२ मा बनेको चार तले घरले सार्वजनिक गोरेटो बाटो हडपेको काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले फैसला गरिदिएको हो ।
सार्वजनिक बाटोमा बनेको घर भत्काई बाटो कायम गरिपाउँ भन्दै शान्ति गुरुङसहितका स्थानीयले दायर गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा २०७९ सालको वैशाख ११ गते दर्ता भएको थियो । सार्वजनिक गोरेटो बाटो हडपेर घरलगायत भौतिक संरचना निर्माण गरेको, त्यहाँका स्थानीयलाई हिँडडुल गर्न अप्ठ्यारो परेको, ढल तथा नालको व्यवस्थापनमा समेत समस्या भएको स्थानीय गुरुङसहितकाले दाबी गरेका थिए । त्यही मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी पुग्ने फैसला गरेलगत्तै सरु रुम्बाले अनधिकृतरूपमा बनाएको भौतिक संरचना भत्काउनुपर्ने फैसला भएको हो ।
योसँगै सरु रुम्बाले पूर्व र दक्षिणतर्फ आफ्नो जग्गाको सिमाना छोडेर सार्वजनिक जग्गा पहिलेकै अवस्थामा छाडिदिनुपर्ने भएको छ । सरु रुम्बाले उनका सदियार कित्ता नम्बर १८८ का भाईखु गुरुङको जग्गा समेत हडपेर शौचालय निर्माण गरेको मुद्दा दायरकर्ताको दाबी छ । यस्तै, सरु रुम्बाले आफ्नो भौतिक संरचना अनधिकृतरूपमा बनाएर अनियन्त्रितरूपमा पानीका पाइपहरू समेत बिछ्याउँदै आएका छन् । अदालतको फैसलाले ती संरचनाहरू समेत हटाउनुपर्ने भएको छ । अदालतको यो फैसलासँगै भाइखु गुरुङले समेत नापीले आफ्नो कित्ता नम्बरमा देखाएको जग्गाबाहेक अरू जग्गा हडपेको देखिए त्यसलाई छाड्न तयार भएका छन् ।