काठमाडौं, असार २२
नेपालको लागि हुन्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुन्डाई)ले हाल कोविड–१९ को बदलिँदो परिस्थितिलाई सहज बनाउन ग्राहकहरुलाई नौलो सुविधा दिन सुरु गरेको छ । उक्त सुविधामार्फत ग्राहकहरुले शोरुम नगएरै सजिलै अनलाइनबाट आफूलाई चाहिएको हुन्डाई गाडीको बुकिङ गर्न सक्नेछन् ।
लक्ष्मी हुन्डाईले हाल कोभिड–१९ को सावधानीस्वरुप सामाजिक दूरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्न आफ्नो आधिकारिक वेबसाइटबाट ‘क्लिक टु बुक’ सेवा सुरु गरेको हो । ग्राहकलाई गाडी खरिदको प्रक्रिया सहज बनाउन थालिएको सेवाबाट ग्राहकले आफूलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मूल्य, छुट तथा अन्य विभिन्न फाइदाहरुको साथै आफूलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको पनि जानकारी लिन सक्नेछन् ।
ग्राहकहरुले आफूलाई चाहिएको गाडी छनौट गरेपछि बिक्री परामर्शका लागि दर्ता प्रक्रिया सेट–अप गरिनेछ । त्यसपछि ग्राहकहरुलाई तोकिएको बिक्री परामर्शदाताले सिधै सम्पर्क गर्नेछन् । ग्राहकहरुले टेस्ट ड्राइभका लागि पनि अनलाइनबाट अनुरोध गर्न सक्नेछन्, जसको व्यवस्थापन बिक्री परामर्शदाताले नै गर्नेछन् । साथै सवारीसाधनको एक्सचेन्जको अनुरोध पनि अनलाइन पोर्टलमार्फत गर्न सकिनेछ ।
ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछि गाडीको बुकिङका लागि अनलाइनबाट कोटेसन जारी गर्न र साथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइनबाट सुरु गर्न सक्नेछन् वा प्रदान गरिएको भुक्तानी गेटवेमार्फत अनलाइन भुक्तानी गरी सजिलै आफूलाई चाहिएको गाडी बुक गर्न सक्नेछन् । हुन्डाईका गाडीहरु सधैं नेपाली ग्राहकहरुको छनौटमा पर्न सफल हुँदै आएको कम्पनीको दाबी छ । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट र नौलो सेवा अनुभूति प्रदान गर्न लक्ष्मी हुन्डाई सधैं तत्पर रहेको पनि कम्पनीले जनाएको छ ।