काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित भएर व्यवस्थितरूपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बिहीबार एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झै–झगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेका छन् ।
जिप्रका काठमाडौंले कानुनविपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने/खेलाउने, भुइँचम्पा, पटाका, आतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरणलगायत कार्य नगर्न/नगराउन पनि अनुरोध गरेको छ । ‘कानुनले निषेध गरेका गतिविधि गरे÷गराएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।