काठमाडौं । थ्रिस्टार हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ४९ करोड २५ लाख रुपैयाँमध्येबाट एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४९ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ ।
कम्पनीका अनुसार उक्त हकप्रद सेयर निष्काशन बिक्रीबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जा चुक्ता गर्नका लागि उपयोग गरिने छ । यसबाहेकको बाँकी रकम १५ करोड भने निको इर्नर्जी लिमिटेडद्वारा निर्माणाधीन माथिल्लो भुरुण्डी एक जलविद्युत् आयोजना निर्माणका लागि उपयोग गरिने कम्पनीले जनाएको छ । हकप्रद सेयर निष्काशनका लागि विद्युत् नियमन आयोगमा पूर्व स्वीकृति लिनका लागि आवेदन दिइने कम्पनीले जानकारी दिएको छ ।