काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा, बालुवाटार, काठमाडौँमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू, आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरू पारित भएका छन् । कम्पनीको पाँचौँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने सेयरधनीहरू प्रतिकम्पनीका अध्यक्ष तथा यस सभाका सभापतिले धन्यवाद व्यक्त गर्दै हाल कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ आश्विन १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरी मिति २०८१ आश्विन २१ गते योजना समेत दर्ता गरी स्वीकृतिको प्रक्रियार्थ रहेको जानकारी गराए । यसका साथै कम्पनीले आगामी दिनमा पुँजीबजारको विकासमा अझ बढी टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वस्तता व्यक्त गरे । साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्षरूपले मार्ग दर्शन गर्ने तथा योगदान दिने मुख्य कम्पनी माछापुच्छ्रे बैंक लिमिटेड, नियमक निकायहरू, लेखापरीक्षकहरू, सेवाग्राही, कानुनविद्, सञ्चारकर्मीहरू, विभिन्न सम्बद्ध संस्थाहरू, सेयरधनीहरू तथा कम्पनीका कर्मचारीहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे ।