काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सन्दर्भमा सोमबार नुवाकोटमा रहेको सिद्धार्थ होटल वाटर टावरमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन भएको छ । गिरिराज पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी रहेका थिए भने अन्य अतिथिहरूमा नुवाकोट जिल्ला सुरक्षा समितिका सम्पूर्ण सदस्य तथा उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्षका साथै स्थानीय जनप्रतिनिधिहरू उपस्थित रहेका थिए । एक सयभन्दा बढी स्थानीयको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा एनआईएमबी एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानाले लगानीकर्ता सप्ताह २०२४ को मुख्य विषयवस्तुसँगै नेपालमा सेयर बजारको वर्तमान अवस्था, यसका चुनौती र सम्स्याबाट जोगिने उपायहरूका साथै नेपाली शेयर बजारका विभिन्न पक्षहरूको सम्बन्धमा प्रशिक्षणमूलक अभिव्यक्ति दिएका थिए ।
उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यावहारिक पक्षबारे पनि छलफल गरिएको थियो भने एनआईएमबी एस क्यापिटलले प्रदान गर्ने सेवाहरूको बारेमा समेत विस्तृतरूपमा जानकारी गराइएको थियो ।
विश्व लगानीकर्ता सप्ताह, २०२४ अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) द्वारा प्रवद्र्धन गरिएको एक हप्ता लामो विश्वव्यापी अभियान हो, जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्वबारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्छ ।