इन्डोनेसिया । पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तीमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ ।
‘लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार सात सय तीन मिटरको दुईवटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।
ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा ¥याक्न थालेपछि प्रभावित क्षेत्रका बासिन्दाहरूले आफूहरू भयभीत भएको बताएका छन् ।
इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बीएनपीबी)का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको संख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट दश हजार दुई सय ९५ जना प्रभावित भएको बताएको छ । उनका अनुसार विस्थापितको संख्या अझै गणना
भइरहेको छ ।
एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखी नजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ । ज्वालामुखी नजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन् ।
ज्वालामुखी मामिला सुरक्षा निकायले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखी विस्फोट भएको (केन्द्रविन्दु) को सात किलोमिटर दायराभित्र केहि गतिविधिहरू नगर्न निर्देशन दिएको छ ।
पछिल्लो समयमा माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी गतिविधिमा उल्लेखनीयरूपमा वृद्धि भई घरहरूमा क्षति गरेपछि स्थानीयले साम्प्रदायिक भवनमा शरण लिएका छन् । ज्वालामुखी सुरक्षा निकायले वर्षाले गर्दा लाभा बाढी आउन सक्ने चेतावनी दिँदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयहरूलाई मास्क लगाउन आग्रह गरेको छ । रासस/एएफपी