इनरुवा (सुनसरी) । चालु आर्थिक वर्षको चार महिनामा सशस्त्र प्रहरी–४ नम्बर गणले एक हजार तीन सय किलो गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी सुनसरीले सुरु गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत खुल्ला सीमाको प्रयोग गरेर भारतीय बजार तर्फ लगिरहेका बेला सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा उक्त परिमाणमा गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।
सशस्त्र प्रहरीले सोही अवधिमा ब्राउन सुगर ९१ दशमलव ७९ ग्राम, ट्रमानील १८ हजार ४ सय ५० पीस बरामद गरिएको जनाएको छ । बरामद गाँजा तथा लागुऔषध नेपाल प्रहरीलाई आवश्यक कारबाहीका लागि बुझाइएको उनले बताए ।