बनेपा । आमाको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले एक जनालाई पक्राउ गरेको छ। आफ्नै आमाको हत्या गरेको आरोपमा जिल्लाको रोसी गाउँपालिका–३ का २८ वर्षका फुर्साङ लामालाई प्रहरीले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको हो।
फुर्साङले कात्तिक १६ गते सुन र नगदका लागि ६९ वर्षीया आमा माइली लामाको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले बताइन्। उनले घटनाको अनुसन्धानको क्रममा फुर्साङले आमाले लगाएको सुन र पैसा लिनका लागि लोहोरो, झ्याल र ढोकाको आग्लोले हानेर हत्या गरेको खुल्न आएको बताइन् । प्रहरीले कात्तिक १८ गते आमाको हत्या गरेर फरार रहेका फुर्साङलाई पक्राउ गरिएको जनाएको छ।‘
काठमाडौँको कोठाको भाडा तिर्न आफूसँग भएको चौध सय रुपियाँबाट नपुग्ने र आफूलाई चाहिने खर्च नटर्ने भएपछि खाना खाएर सुतेकी आमालाई लोहोरो, झ्यालको आग्लो र झ्यालको आग्लो भाँचिएपछि ढोकाको आग्लोले हानेर हत्या गरेको पाइएको प्रहरी उपरीक्षक खड्काले बताइन्।
फुर्साङले आमाको हत्या गरेपछि घर पछाडि खाल्डो खनेर पुरेको अवस्थामा सुन र रगत लागेको तीन हजार रुपियाँ घटनाको अनुसन्धान गर्ने क्रममा फेला पारेको प्रहरी उपरीक्षक खड्काले बताइन् । उनले आमाको हत्या आरोपमा पक्राउ परेका फुर्साङको साथबाट नगद नौ हजार नौ सय रुपियाँ र २०६९ सालमा आमाको कानमा लगाएको रिङको बिल फेला पारेको बताइन् ।