काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा बढ्दै गएको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरूको कुल निष्क्रिय कर्जा दुई खर्ब एक अर्ब ८९ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ५२ खर्ब २३ अर्ब २० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ८६ प्रतिशत निष्क्रिय कर्जा देखिएको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ८४ प्रतिशत विन्दु अर्थात् ५३ अर्ब ४१ करोड ८९ लाख ५४ हजार दुई सय रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ४९ खर्ब सात अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा तीन दशमलव शून्य दुई प्रतिशतले हुने एक खर्ब ४८ अर्ब ५१ करोड १० लाख रुपैयाँ निष्क्रिय कर्जा थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा गत भदौ मसान्तसम्म एक खर्ब ७३ अर्ब ६३ करोड ७३ लाख २६ हजार चार रुपैयाँ छ । भदौसम्म वाणिज्य बैंकहरूले ४६ खर्ब १८ अर्ब चार करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ७६ प्रतिशत निष्क्रिय कर्जा देखिएको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ७८ प्रतिशत अर्थात् ४४ अर्ब १९ करोड ६९ लाख १४ हजार रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ४३ खर्ब ४३ अर्ब ६३ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ९८ प्रतिशतले हुने एक खर्ब २९ अर्ब ४४ करोड चार लाख १२ हजार चार सय रुपैयाँ बराबरको निष्क्रिय कर्जा थियो ।
विकास बैंकहरूमा भने १८ अर्ब २३ करोड २२ लाख दुई हजार चार सय रुपैयाँ निष्क्रिय कर्जा छ । समीक्षा अवधिमा विकास बैंकहरूले कुल पाँच खर्ब तीन अर्ब ६५ करोड ३० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दा तीन दशमलव ६२ प्रतिशत निष्क्रिय कर्जा छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव १३ प्रतिशत अर्थात् छ अर्ब ४९ करोड ४३ लाख १७ हजार पाँच सय रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले कुल चार खर्ब ७१ अर्ब ४० करोड १० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दा दुई दशमलव ४९ प्रतिशत (११ अर्ब ७३ करोड ७८ लाख ८४ हजार नौ सय रुपैयाँ) बराबरको निष्क्रिय कर्जा थियो ।
फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा १० अर्ब दुई करोड २० लाख ९६ हजार सात सय रुपैयाँ बराबर छ । गत भदौ मसान्तसम्म एक खर्ब एक अर्ब ५४ करोड १० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेकोमा नौ दशमलव ८७ प्रतिशत निष्क्रिय कर्जा देखिएको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव २७ प्रतिशत अर्थात् तीन अर्ब एक करोड ९३ लाख ८० हजार सात सय रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूकाले कुल ९२ अर्ब १४ करोड १० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेकोमा त्यसको सात दशमलव ६० प्रतिशत अर्थात् सात अर्ब दुई करोड ७१ लाख छ हजार रुपैयाँ निष्क्रिय कर्जा थियो ।