काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष नवराज कुँवर एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो) को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन्।
जापानमा हालै सम्पन्न असोसियोको वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन् २०२४÷२६ कार्यकालका लागि सो पदमा पुनः निर्वाचित भएका हुन् ।
कुँवरले यसअघि पनि क्यान महासंघको प्रतिनिधित्व गर्दै असोसियोमा सन् २०२२ देखि उपाध्यक्षको भूमिका निभाउँदै आएका थिए भने २०२०–२२ मा सह–उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उपाध्यक्षमा पुनः निर्वाचित भएपछि कुँवरले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने आफ्नो प्रयासलाई थप ऊर्जा मिलेको बताए।
कुँवरले भने, ‘सूचना प्रविधि क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने प्रयास गरिरहेको छु । असोसियोमार्फत एसियाली देशहरूमा मजबुत प्रविधि प्रणाली बनाएर नेपाललाई विश्व आईसीटी क्षेत्रमा स्थान दिलाउन सकिन्छ, जसले नवप्रवर्तन, वृद्धि र अन्तर्राष्ट्रिय सहयोगका नयाँ अवसरहरू खोल्नेछ । साथै, यसले एसियाका विकासशील र अविकसित देशहरूबीचको दूरीलाई पनि घटाउन मद्दत गर्ने विश्वास लिएको छु।’
नयाँ कार्यसमितिमा पीकोमको प्रतिनिधि गर्दै मलेसियाका अध्यक्ष स्टेन सिंहको नेतृत्वमा उपाध्यक्षहरूमा नेपाल, थाइल्यान्ड, कोरिया, हङकङ, म्यानमार र जापानका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संगठनका प्रतिनिधिहरू निर्वाचित भएका छन् ।
क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदारले कुँवरलाई पुनः उपाध्यक्षमा निर्वाचित भएकोमा बधाई दिँदै कुँवरको सक्रियताले नेपालको डिजिटल अर्थतन्त्र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त ग रे।
‘असोसियोमा उहाँको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच एवं सूचना तथा सञ्चार प्रविधिमार्फत समृद्ध नेपाल बनाउने क्यान महासंघको प्रयासमा मद्दत पुग्ने हाम्रो विश्वास रहेको छ,’ अध्यक्ष पोदारले भने ।
क्यान महासंघ अन्य विभिन्न अन्तर्राष्ट्रिय संस्थामा समेत आबद्ध छ । हालै मात्र क्यानका अध्यक्ष रणजित कुमार पोदारले ८४ देशका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाहरूको छाता संगठन वल्र्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा) को कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।