काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको एक सय ४०औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले आइतबार शुभकामना दिँदै सामाजिक रूढीवादी परम्पराको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उनले दिएको मार्गनिर्देश अनुशरणयोग्य रहेको बताएका छन् । उनले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।
राष्ट्रपतिले सन्देशमा भनेका छन्, “फाल्गुनन्दले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ ।” सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्द धार्मिक गुरुमात्र नभई सामाजिक अभियन्ताका रूपमा समाज सुधारक भई कार्यसमेत गरेको उनले स्मरण गरेका छन् ।
राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि निर्वाह गरेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उनको जन्मजयन्ती मनाउने गरिन्छ । किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा फाल्गुनन्दले महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।