काठमाडौं, असार २४
एनएमबी लघुुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको सोमबार सम्पन्न भएको वार्षिक साधारण सभाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट २५ लाख ५७ हजार नौ सय ९३ रुपैयाँ नगद लाभांश पारित गरेको छ । सभाले हाल कायम चुक्ता पुँजीको शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश अर्थात् बोनस सेयरको कर प्रयोजनको लागि मात्र वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
संस्थाको केन्द्रीय कार्यालय, हेम्जा कास्कीमा सम्पन्न भएको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सञ्जिव सुब्बद्वारा प्रस्तुत आर्थिक वर्ष २०७५ र ७६ को वार्षिक प्रतिवेदनलाई पारित गरिएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७५र०७६ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरूउपर छलफल गरी पारित गरेको छ ।
सभाबाट सर्वसाधारण समूहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरू जितेन्द्र बाहेती र सविता सापकोटा निर्वाचित भएका छन् । सञ्चालक समितिका अध्यक्ष सुब्बाले संस्थामा प्रविधिको उच्चतम प्रयोग गर्दै आउँदा दिनमा थप कार्यगत चुस्तता ल्याउने र ग्राहक सदस्यहरूको कारोबार थप सुरक्षित बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड ५९ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड ३२ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४० करोड ५० लाख १६ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४० करोड २६ लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५५ करोड चार लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड ६८ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ९७ लाख १९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९६ करोड ११ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ७९ करोड ४८ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ३० लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुुई दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।