काठमाडौं । नेपालमा ऋण लिएर लगानी गर्नेहरूभन्दा बैंकमा निक्षेप राखेर व्याज खानेहरू बढ्दै गएका छन् । राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाताको संख्या कर्जाको तुलनामा करिब ३० गुणा बढी बढी छ ।
सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थामा असोज मसान्तसम्म पाँच करोड ६९ लाख ७५ हजार तीन सय ५८ वटा निक्षेप खाता र १९ लाख १२ हजार दुई सय ३४ वटा कर्जा खाता खोलिएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप खाता ४२ लाख ६१ हजार एक सय ६९ र कर्जा खाता ५७ हजार सात सय ६८ वटाले बढी हो । गत वर्ष असोजसम्म पाँच करोड २७ लाख १४ हजार एक सय ८९ वटा निक्षेप खाता र १८ लाख ५४ हजार चार सय ६६ वटा कर्जा खाता सञ्चालनमा थिए ।
गत असोज मसान्तसम्म वाणिज्य बैंकहरूमा मात्र सञ्चालनमा रहेका निक्षेप र कर्जा खाताको संख्या क्रमशः चार करोड ८८ लाख ३६ हजार चार सय ३२ र १५ लाख ८७ हजार तीन सय ९१ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः ३५ लाख ९२ हजार नौ सय पाँच र ६३ हजार तीन सय ३१ वटाले बढी हो । गत वर्ष असोज मसान्तमा वाणिज्य बैंकहरूमा चार करोड ५२ लाख ४३ हजार पाँच सय २७ वटा निक्षेप खाता र १५ लाख २४ हजार ६० वटा कर्जा खाता सञ्चालनमा थिए ।
विकास बैंकहरूमा गत असोज मसान्तसम्म ७२ लाख २४ हजार आठ सय ९१ वटा निक्षेप खाता र दुई लाख ८१ हजार एक सय ९६ वटा कर्जा खाता सञ्चालनमा छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप खाता पाँच लाख ६६ हजार नौ सय ४६ वटा बढी हो भने कर्जा खाता सात हजार एक सय ४५ वटाले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूमा कुल ६६ लाख ५७ हजार नौ सय ४५ वटा निक्षेप खाता र दुई लाख ८८ हजार तीन सय ४१ वटा कर्जा खाता सञ्चालनमा थिए ।
फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेका निक्षेप र कर्जा खाताको संख्या गत आसोजमा क्रमशः नौ लाख १४ हजार ३५ र ४३ हजार छ सय ४७ वटा छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः एक लाख एक हजार तीन सय १८ र एक हजार पाँच सय ८२ वटा बढी हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्स कम्पनीहरूमा आठ लाख १२ हजार सात सय १७ वटा निक्षेप खाता सञ्चालनमा रहेको थियो भने कर्जा खाता ४२ हजार ६५ वटा थियो ।