काठमाडौं । डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ ।
ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई उक्त मोबाइल फोन हस्तान्तरण गरेका हुन् । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार हस्तान्तरण भएका स्रोत साधनहरू डिजिटल चलानको कार्यान्वयनमा अत्यन्तै उपयोगी हुने विश्वास लिएको बताए ।
कार्यक्रममा हस्तान्तरण गरिएका मोबाइलबाट नेपाल प्रहरीले आत्मसात् गरेको नयाँ प्रविधिलाई सहयोग पुग्ने ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताए । उनले ट्राफिक प्रहरीको काम कारबाहीलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने बताए ।
सो कार्यक्रममा ई–सेवाका पदाधिकारीहरू लगायत प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू र वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।