काठमाडौं । प्रधान सेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँचदिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फिर्ता भएका छन् । औपचारिक भ्रमणमा नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष द्विवेदी र उनकी श्रीमती सुनीता द्विवेदी आइतबार स्वदेश फिर्ता भएका हुन् ।
युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी र उनकी धर्मपत्नीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । जनरल द्विवेदीले भ्रमणको दौरानमा राष्ट्रपति, प्रधानमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए । जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए ।
उनले पोखरास्थित पश्चिम पृतना हेडक्वाटरको भ्रमण गर्नुका साथै मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउण्टेन फ्लाइटमार्फत विभिन्न हिमालको अवलोकन गरेका थिए । नेपाली सेनाले यस भ्रमणले दुई देशबिच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास लिएको छ ।