काठमाडौं । बेटिङ एप्लिकेसनमार्फत ५५ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाउने एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भएका ३७ वर्षीय सुनिल राईलाई ललितपुरबाट पक्राउ गरेको हो ।
बेटिङ एप वानएक्स बेटमार्फत उनले विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमअन्तर्गत अनलाइन जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । साथै, उनले क्रिप्टोकरेन्सी ट्रेड समेत गर्ने गरेको पाइएको छ । राईले ७५ वटा बैंक खाता र एक सय २८ वटा इ–सेवा वालेट प्रयोग गरी ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । यस्तै, उनले २५ वटाभन्दा बढी इमेल एकाउन्ट खोलेर वान एक्स बेटको प्रयोग गरेको पाइएको छ ।
साथै, प्रहरीले राईको साथबाट ल्यापटप दुई थान, विभिन्न मोडेलका मोबाइल सेट आठ थान, एनसेनको सिमकार्ड ७० थान, एनटीसीका सिमकार्ड ५ थान, वाईफाई राउटर दुई थान, विभिन्न व्यक्तिहरूको नाममा रहेका ११ थान नागरिकता प्रमाणपत्र, १५ थान राहदानी, २२ थान विभिन्न बैंकका चेकबुक, ४२ थान एटीएम कार्ड र एउटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीले राईविरुद्ध जुवा खेल्न नहुने कसुर, अभौतिक मुद्राको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ ।