काठमाडौं, असार २८
बैंकिङ कसुर मुद्दाका फरार दुुई प्रतिवादीहरु पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १८ ताम्सिपाखा बस्ने ४८ वर्षीय सुनिता चित्रकार र काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने ४९ वर्षीय मनोजलाल सिंह सुवाल रहेका छन् ।
प्रतिवादीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी विभिन्न मितिमा विभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर अदालतले गरेको थियो । सोहीअनुरुप २०७६ फागुन २६ गते उच्च अदालत पाटनबाट सुनितालाई तीन दिन कैद र छ लाख ५० हजार रुपैयाँ जरिवाना तथा मनोजलाललाई सात दिन कैद र १० लाख रुपैयाँ जरिवाना सजाय हुने फैसला भएको थियो ।
अदालतको फैसलापछि उक्त सजाय बेरुजु रही फरार रहेका उनीहरुमध्ये सुनितालाई बिहीबार लुकीछिपी बसिरहेको अवस्थामा स्वयम्भूबाट र मनोजलाललाई शुक्रबार रविभवन काठमाडौंमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए । दुवै जनालाई फैसला कार्यान्वयनको लागि शुक्रबारै जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रवक्ता पाण्डेले बताए । उनीहरुविरुद्ध विकास कार्कीले जाहेरी दिएपछि उच्च अदालत पाटनले सजाय सुनाएको थियो ।