काठमाडौं । नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित ‘अर्थतन्त्रको प्रबन्धन’ विषयक अन्तरक्रियामा बोल्दै आर्थिक क्षेत्रसँग सम्बन्धित सरोकारवालाले सार्वभौम साख मूल्यांकनबाट नेपालले ‘बीबी माइनस’ नतिजा पाएको र यो उत्साहजनक रहेको भन्दै यसबाट लाभ लिनुपर्ने बताएका हुन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको सार्वभौम साख मूल्यांकनबाट पाएको नतिजा नेपालका लागि गौरवको विषय रहेको बताए । नेपाल दक्षिण एसियामा भारतपछि दोस्रो स्थानमा रहेको भन्दै उनले यो सम्भावनालाई नतिजामा बदल्नु आवश्यक रहेको बताए । सरकारलाई गर्ने आलोचनाको अन्तर्यमा निकास भेटिने भन्दै उनले निरपेक्ष रुपमा मात्र आलोचना नगर्न आग्रह गरे । उनले बिरासतमा अत्यन्तै गम्भीर समस्याको चाङ प्राप्त गरेको भन्दै समस्याको बीचमा रहेर काम गर्ने प्रयास गरेको बताए । यसबीचमा सकारात्मक सुधार र सङ्केत देखा परेको उनको दाबी छ । निजी क्षेत्रको मनोवल उकास्न व्यावसायिक वातावरण बन्नुपर्ने र राजनीतिक अस्थिरता त्यसको बाधक रहेको अर्थमन्त्री पौडेलले बताए ।
योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीले अबको बहस लगानीका क्षेत्र पहिचान गर्ने तर्फ हुनुपर्नेमा जोड दिए ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र आर्थिक अवस्थाको हिसाबले नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहेको क्रेडिट रेटिङबाट देखिएको भए पनि चुनौती भने कायमै रहेको बताए । सार्वभौम साख मूल्यांकनको अहिलेको स्तर थप राम्रो बनाउन प्रयास गर्न जरुरी रहेको उनको भनाइ छ ।
अर्थशास्त्री डा. अच्युत वाग्लेले राजस्वका नयाँ स्रोत फेला नपरेको सन्दर्भ निकाल्दै यसले राज्यलाई कमजोर बनाइरहेको बताए । राजस्व उठ्ने ट्रेन्ड जीडीपीको २४÷२५ प्रतिशतबाट घटेर १२/१३ प्रतिशतमा झरेको भन्दै हामी राजस्व नउठ्ने अवस्थामा किन पुग्यौँ भन्दै प्रश्न गरे । राजस्व नउठ्दा सार्वजनिक ऋण थप्नुपरेको भन्दै यसले थप सङ्कट ल्याउनतर्फ समेत सचेत गराए । कार्यक्रममा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका नेतृत्वले अर्थतन्त्रका केही सूचक सकारात्मक रहे पनि निजी क्षेत्रको मनोबल उठ्न नसकेको भन्दै यसमा काम गर्न सरकारलाई सुझाव दिए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अप्ठ्यारो परिस्थितिका बीच नेपालले पहिलो पटक राम्रो कन्ट्री रेटिङ पाएको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले राम्रो बाह्य इन्डिकेटरमा रहेको भए पनि निजी क्षेत्र शिथिलतामा रहेको उल्लेख गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सुस्तता अहिलेको समस्याका रुपमा रहेको बताए । विगतमा लिएका नीतिले समस्या समाधान नभएको हो कि भनेर समीक्षा गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका इस्यु, अडानहरू निजी क्षेत्रको फाइदाका लागि मात्र राख्छ, सामाजिकरुपमा उत्तरदायी छैनन् भन्ने जुन मानसिकता थियो त्यसले राजस्व सङ्कलनमा असर गरेको बताए ।