काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुर्खेतस्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जनाभन्दा बढी अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागीय प्रमुख तथा कर्णाली प्रदेशअन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले अन्य प्रदेशको तुलनामा बीमा व्यवसायमा कर्णाली प्रदेश केही पछाडी रहे पनि सम्भावना भने निक्कै नै रहेको हुँदा यस क्षेत्रमा कार्यरत अभिकर्ताहरूले व्यावसायिक रणनीति बनाई अघिबढ्नुपर्ने सुझाव व्यक्त गरे । उनले सीईओ क्लब र नेसनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीयरूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजनाअनुरूप मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सम्पन्न गरिसकेको र सोही क्रममा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताउँदैै अब सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिने योजना रहेको जानकारी गराए ।
उनले अभिकर्ताहरू माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुशरण गरी सीईओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुर्याउने उद्देश्य रहेको बताउनुभयो । यस कार्यक्रममा नेपालभरबाट दुई हजार जनाभन्दा बढी अभिकर्ताहरू छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए ।