काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन झण्डै २५ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन १५ दशमलव ९३ अंकले ओरालो लागेर २७ सय ३४ दशमलव ९३ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव शुन्य दुई अंकले ओरालो लागेर चार सय ६४ दशमलव शुन्य एक बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय सात वटा कम्पनीहरुको ८७ हजार चार सय ७६ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ६७ लाख ९७ हजार सात सय २७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ३६ करोड ९६ लाख ८७ हजार चार सय दुई रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जीवन बीमा र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।