काठमाडौं । एनएमबी बैंकलाई २०२४ को युएन वमुन एसिया–प्यासिफिक विप्स अवार्डअन्तर्गत लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै यो विशेष अवार्ड प्रदान गरेको छ । यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने एनएमबी बैंकको पहलहरूको सम्मानस्वरूप प्राप्त गरेको अवार्ड हो ।
युएन वमुन र युएन ग्लोबल कम्प्याक्टद्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबी बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको छ । ती प्रयासहरूमा सी लिड्स टुमारो स्कलरसिप, एनएमबी नेक्स्ट जेन बैंकिङ लिडरसिप स्कलरसिप महिलाको नेतृत्वमा सबै महिला कर्मचारीद्वारा सञ्चालित शाखाहरू, महिला नेतृत्व विकाशका कार्यक्रमहरू र सामाजिक समावेशीकरणमा केन्द्रित सीएसआर गतिविधिहरू रहेका छन् ।
यस अवार्डले एनएमबी बैंकलाई विश्वबजारमा विप्सअन्तर्गतको युएन वमुनद्वारा मान्यताप्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एसिया–प्यासिफिक देशका छ सयभन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो ।
यस अवार्डले एनएमबी बैंकलाई निरन्तररूपमा समावेशी र दिगो विकास गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहन मिलेको छ । बैंकले हाल देशभर दुई सय एक वटा शाखाहरू, एक सय ८७ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।