काठमाडौं, असार २९
नेपाली राजदूतावास, क्वालालम्पुरले कोभिड १९ को कारणले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरूलाई नेपाल फर्कन सहजीकरण गर्न सञ्चालन भएका पहिलो चरणका उडानहरू सम्पन्न भएको जनाएको छ । १८ जुन २०२० मा पहिलो उद्धार उडान क्वालापलम्पुरबाट भएको थियो । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिन्दो एयरका फिलिपिन्सबाट समेत गरी २१ वटा उडानमार्फत तीन हजार तीन सय २२ जना नागरिकहरू नेपाल फर्किएको दूतावासले जनाएको छ ।
उक्त उडानहरूमार्फत मलेसियाबाहेक इण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट एक सय नौ जना तथा हङकङ, भियतनाम, सिंगापुर, ताइवान र स्पेनमा रहेका नेपालीहरू समेत नेपाल फर्किएका छन् । फिलिपिन्समा अलपत्र परेका एक सय ८ जना नेपाली नागरिकहरूसहित हिमालय एयरलाइन्स आइतबार नेपाल फर्किएको छ ।
क्वालालम्पुरबाट भएका उडानहरूबाट मलेसियाको विभिन्न जेलरडिटेन्सन केन्द्रहरूमा रहेका ६९ जना नेपाली नागरिकहरू समेत नेपाल फर्किएको छन् । यसैगरी यी उडानहरूबाट ३९ वटा शवहरू समेत नेपाल ल्याइएको दूतावासले जनाएको छ । पहिलो चरणको उडानहरूको सहजीकरण गर्ने नेपाल, मलेसिया तथा अन्य मुलुकमा रहेका नेपालीहरूलाई राजदूतावास धन्यवाद समेत दिएको छ ।