काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । पूर्वगृहमन्त्री तथा पार्टी सभापति समेत रहेका रवि लामिछाने पक्राउपछिको प्रदर्शनका क्रममा भएका विषयप्रति परेको अवहेलनाको निवेदनमाथि प्रारम्भिक गुनुवाई गरेपछि सर्वोच्चले यस्तो आदेश गरेको हो ।
प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दबाबस्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अवहेलनाको कारबाही हुनुपर्ने भनी अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
सर्वोच्च अदालतले रास्वपाका केन्द्रीय पदाधिकारी एवं सांसदहरूलाई ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ?’ भनी जवाफ माग्ने आदेश गरेको हो । न्यायाधीशहरू विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले उनीहरूसँग ‘लिखित जवाफ माग्ने’ आदेश गरेको हो ।