सुबास बस्नेत दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुमा निर्माण गरिएको ३३÷११ केभी नाम्दु सबस्टेसन सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएर पनि स्थानीयको विवाद र निर्माण कम्पनीको प्राविधिक समस्याको कारण डेढ वर्षदेखि सञ्चालनमा आउन सकेको थिए ।
उक्त सबस्टेसनको सोमबार बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले उद्घाटन गरेका थिए । ३३÷११ केभी सबस्टेसन चार्ज भएसँगै उक्त सबस्टेसनबाट बैतेश्वरमा विद्युत् वितरण सुरु भएको छ । सबस्टेसन ग्रिड सोलार एन्ड इनर्जी आयोजनाले प्याकेज नौअन्तर्गत आठ करोडको लागतमा सबस्टेसन निर्माण गरिएको आयोजना प्रमुख संगीता कार्कीले बताइन् । ग्रिड सोलार एन्ड इनर्जीले नाम्दु सबस्टेसनसहित बागमती प्रदेशमा १३ वटा सबस्टेसन निर्माण गरेको उनले जानकारी दिइन् । वैतेश्वर क्षेत्रमा सुरक्षित विद्युत् प्रवाहको लागि बैतेश्वर जिरी प्रसारण ३३÷११ केभीलाई लुपआउट गरेर नाम्दु सवस्टेसन लगिएको दोलखा वितरण केन्द्रका कार्यालय प्रमुख नेत्रमणी न्यौपानेले बताए । नाम्दुबाट ३ वटा फिडरअन्तर्गत विद्युत सञ्चालन हुने उनले जानकारी दिए । योसँगै यहाँका अधिकांश क्षेत्रका ग्राहकले भरपर्दो विद्युत् सेवा पाउने भएका छन् ।
यसअघि रहेको ३३ केभीको वितरण प्रणाली नयाँ सबस्टेसन सञ्चालनमा आएसँगै विस्थापित भएको छ । सबस्टेसनको सञ्चालनपछि एक स्थानमा समस्या हुँदा सबैतिर अँध्यारो हुने समस्याको अन्त्य हुने, प्राविधिक चुहावट कम हुने तथा उद्योग सञ्चालनका लागि विद्युत् सेवा नियमित उपलब्ध हुने प्राधिकरणले जनाएको छ । सबस्टेसन अभावमा यसअघि बैतेश्वरमा पटकपटक विद्युत् सेवा अवरुद्ध हुने गरेको थियो ।