त्रिवेणी (रुकुमपश्चिम) । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा सिस्ने–६ खोपिचारकी १२ वर्षीया एक बालिका विष्णु बुढामगरको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
लुम्बनी प्रदेश ०२००१ ह ०३५० नंको अटो मध्यपहाडी सडकको पाखाँगाउँबाट रुकुमकोट आउँदै गर्दा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका–६ का १६ वर्षीय महेन्द्र बुढा मगर, सोही वडाकै १४ वर्षीया सुशीला बुढामगर, ११ वर्षीया सुस्मिता बुढामगर र अटोचालक सिस्ने गाउँपालिका–५ का ४० वर्षीय टोपबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हिमबहादुर केसीले जानकारी दिए ।
उनले गम्भीर अवस्थामा रहेका १६ वर्षीय महेन्द्रलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको बताए । प्रहरी निरीक्षक केसीले अन्य तीनजनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको जानकारी दिए । अटो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।