काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बञ्चरेडाँडामा देखिएको फोहोरमैला व्यवस्थापन समस्या समाधान गर्न केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइटको बिहीबार स्थलगत अवलोकन गरी उनले बञ्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिएका थिए । सिंहले फोहोरमैला व्यवस्थापनमा बञ्चरेडाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको भन्दै अब समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘बारम्बार फोहोरको बारेमा प्रश्न उठेपछि स्थानीयस्तरमा फोहोरको व्यवस्थापन कसरी भइरहेको छ ? जुन मापदण्डअनुसार हुनुपर्ने हो त्यहीअनुरूप भइरहेको छ कि छैन ?’ भन्नेबारे जानकारी लिएको सिंहको सचिवालयले जनाएको छ । स्थानीयले उठाएका विषयहरू के हुन् ? कसरी समाधान गर्न सकिन्छ ? त्यसबारे समन्वय गरी तदारुकताका साथ काम गर्न उनले आग्रह गरेका थिए । त्यस्तै, उपप्रधानमन्त्री सिंहले ल्यान्डफिल साइटको आयुबारे पनि चासो राखेका थिए ।
सहरी विकास मन्त्रालयका अधिकारीहरूका अनुसार वर्गीकरण नगरी फोहोर फाल्ने हो भने बञ्चरेडाँडा ल्यान्डफिल साइट २० वर्षमै भरिन सक्छ । तर फोहोर वर्गीकरण गरेर मात्रै फाल्ने हो भने ल्यान्डफिल साइटको आयु ४० वर्षसम्म बनाउन सकिन्छ । फोहोर व्यवस्थापन वैज्ञानिक नभएको, जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी दुर्गन्ध फैलाइएको भन्दै बञ्चरेडाँडाका स्थानीयहरूले ध्यानाकर्षण गराउँदै आएका छन् । फोहोर मैला व्यवस्थापन उच्चस्तरीय समितिको संयोजनको जिम्मेवारी सहरी विकास मन्त्रालयअन्तर्गत रहेकाले सहरी विकासमन्त्रीका रूपमा सिंहले बञ्चरेडाँडामा देखिएको समस्या समाधान र स्थानीयले उठाएको विषयलाई चासो दिइरहेका छन् । गत मंसिर ९ गते बसेको समितिको बैठकमा स्थानीय सरोकारवालाले उठाएका विषयहरू समाधान गरी फोहोरमैला व्यवस्थापन सहज बनाउनुपर्नेमा उनले जोड दिएका थिए । उपप्रधानमन्त्री सिंहसहित विज्ञ र बञ्चरेडाँडासँग सरोकार राख्ने मन्त्रालयको टोली सहभागी थियो ।