झापा, असार ३०
नक्कली भारतीय रुपैयाँसहित तीन व्यक्ति पक्राउ परेका छन् । नक्कलीजस्तो देखिने एक लाख ४४ हजार भारतीय नोटसहित तीन जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालका अनुसार इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मौसम श्रेष्ठसहित तीन व्यक्तिलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कन्काई नगरपालिका ४ बस्ने २८ वर्षीय खुर्सैद आलम, सोही नगरपालिका ३ बस्ने ४३ वर्षीय मौसम श्रेष्ठ र झापा गाउँपालिका ५ बस्ने २४ वर्षीय एराजुल हक रहेका छन् । खुर्सैद आलम र मौसम श्रेष्ठ मिलेर भारतीय नक्कली नोट कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मौसम श्रेष्ठलाई निजको घरमै फेला पारी तलासी गर्दा पाँच सय दरका दुुई सय ८८ थानमा रहेका उक्त नोट फेला पारी शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
साथै उक्त कारोबारमा खुर्सैद आलम र एराजुल हक समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि आलम र हकलाई समेत सुरुंगा बजारबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट २० हजार पाँच सय नेपाली रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।