काठमाडौं । नबिल बैंकले १० प्रतिशत नगद लाभांश पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको सभापतित्वमा बिहीबार सम्पन्न भएको बैंकको ४०औँ वार्षिक साधारणसभाले सेयरधनीका नगद लाभांश पारित गरेको हो ।
सभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । समीक्षा वर्ष २०८०/८१ मा बैंकले छ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्वमा ६६ अर्ब १० करोड रुपैयाँ अर्थात् १६ दशमलव ४१ प्रतिशतले वृद्धि भई चार खर्ब ६८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४६ अर्ब ३२ करोड अर्थात् १३ दशमलव ६५ प्रतिशत वृद्धि भई तीन खर्ब ८५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । समग्रमा आव २०८०/८१ मा बैंकको वासलातको आकार १५ दशमलव ७६ प्रतिशतले वृद्धि भई पाँच खर्ब ५७ अर्ब दुई करोड रुपैयाँ पुगेको छ ।
सभाले सञ्चालक समितिमा अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको छ । बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई सञ्चालक पदका लागि भएको निर्वाचनमा पौड्याल र टिवडेवाला निर्विरोध निर्वाचित भएका हुन् । सभालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै आफ्नो बैैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए । बैंकले समुन्नत देश, समाज, सेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारीलगायतका विभिन्न सरोकारवालाहरूको अधिकार र चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर कार्य गर्दै आएको र सामाजिक उत्तरदायित्वमा पनि बैंक सक्रिय रहेको पौडेलले बताएका छन् ।
बैकले हाल देशभर दुई सय ६८ वटा शाखा सञ्जालसहित तीन सय २० वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २४ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ ।