घोराही (दाङ) । दाङमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले मृत्यु हुनुेमा सिवराज नगरपालिका–३ का ४२ वर्षीया प्रिथी थारु र सोही ठाउँका ६० वर्षीया फुलसी थारु रहेको जानकारी दिए । कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी सोमबार बिहान दुर्घटनामा परेको थियो ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुर्घटनामा घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरी नायब उपरीक्षक थापाले बताए । प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए ।